कृषि, उद्योग र वनजङ्गलको पुर्ण उपयोगले समृद्धि हाँसिल गर्न सकिन्छ: मुख्यमन्त्री सिंह

महेश दास

वीरगन्ज।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि, उद्योग , वन जङ्गल र जनशक्तिको पुर्ण उपयोग गरेर प्रदेशमा समृद्धि हाँसिल गर्न सकिने बताएका छन्। 
नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको बीरगन्जमा समुदघाटन गर्दै  मुख्यमन्त्री सिंहले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले युवाहरूलाई विदेश पलायन कम गर्न र स्वदेशमै सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिँदै आएको उल्लेख गर्दै युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान  दिइरहेको दावी गरे ।

 

मधेस प्रदेशका परिसंघ अध्यक्ष प्रमोद कुमार शाहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न यो मञ्च महत्त्वपूर्ण रहेकोले यसले विद्यमान बेरोजगारी समस्या समाधान गर्न र उत्पादनशक्ति बढाउने योजना अघि सारेको बताए।

मञ्चका नवनिर्वाचित अध्यक्ष रजत बजाजले मञ्चको लक्ष्य मधेस प्रदेशको उद्योग र व्यवसायमा युवा उघमीहरुले उल्लेखनीय योगदान पुर्याउने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन भएको छ। रजत बजाजको अध्यक्षतामा गठीत प्रदेश कमिटी मा चयन  अननन्या रुंगटा , दीपक शाह, आयुषी तुल्स्यान , मोहीत खण्डेलवाल र तनुश्री अग्रवाल रहेका छन्।

प्रतिक्रिया