चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आज सोमबारको बैठकमा बोल्दै उनीहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रियसभाको चालु सोह्रौ अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्वपूर्ण निर्णय, महत्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताइन् । विभिन्न विषयका सङ्कल्प प्रस्ताप पारित भएका उल्लेख गर्दै उनिले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।

सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यन्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिए । “सुसासन, पुँजीगत खर्च बढाउन, उत्पादन वृद्धि गरेर रोजगारी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्छ,” उनले भने । 

सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताए । “अर्थ मन्त्रीले प्रस्तुत गरेका  बजेटमा  बुँदा संशोधन हुनु राष्ट्रियसभाको मुख्य उपलब्धि रह्यो,” उनले भने, “यो अधिवेशनमा भूकम्पपीडितको कुरा उठाएका छौ , चिसो अगावै अस्थायी पुनःनिर्माणको काम गरेर नयाँ घरमा बस्न पाउने छन् भन्ने विश्वास छ ।” सांसद बेदुराम भुसालले दसैँ तिहार जस्ता पर्वहरुमा मूल्य वृद्धि  नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए ।

“चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन गर्नुपर्ने,” भुसाले बताए । सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा  सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

रासस

प्रतिक्रिया