राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

काठमाडौँ । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रियसभाको आजको सोमबार बैठकमा उनहरुले पीडितले समयमै राहत पाउन नसक्दा उनहरुको जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै यथाशीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले कैलालीमा बाढीका कारण बासस्थान असुरक्षित बनेको र कृषि क्षेत्रमा असर गरिरहेको बताए । सांसद सोनाम गेल्जेन शेर्पाले हिमपहिरोका पीडितले हालसम्म राहत पाउन नसकेको र बासस्थान सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

“हिमपहिरोका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन्, बासस्थान सुरक्षित छैन, तसर्थ उनीहरुको पुनःस्थापना र पीडित परिवारका लागि सरकारले समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सकोस्”, उनले भने ।

सांसद युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनाको काम तोकिएको समयभन्दा बढी लाग्दा आयोजनाको लागत बढ्ने भन्दै समयमै आयोजना निर्माणको काम सम्पन्न गर्न सुझाव दिए । सांसद राजेन्द्रलक्ष्मी गैरै र सांसद सुरेशकुमार आलेमगरले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए ।

रासस

प्रतिक्रिया