एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जजाएका छन् । 

 एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन गर्दै उनले  आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गरेर एक महिनाभित्र आयोग गठनको काम गर्ने गरी मन्त्रालयले तयारी गरेको जानकारी दिए ।  मन्त्री अधिकारीले किसानको उन्नति नभएसम्म देशको प्रगति नहुने भएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
  
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावकै कारण खाद्य अधिकार चुनौती बन्दै गएको उल्लेख गर्दै मन्त्री अधिकारीले संविधानमै व्यवस्था भएको यो अधिकार कार्यान्वयनका लागि काम भइरहेको सुनाए । 

एसियाका धेरै देश कृषिमै आबद्ध भएकाले सबै देशका किसान सङ्गठित भएर यस क्षेत्रको दिगो विकासका लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए । दुई दिनसम्म चल्ने साधारणसभामा १९ देशका २२ वटा किसानसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । 

साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्ने र साधारणसभापछि नगरकोटमा पाँच दिने तालिम पनि आयोजना गरिने त्यस अवसरमा जानकारी दिइयो । 

प्रतिक्रिया