सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन सहित चालु आर्थिक वर्षका लागि आज बजेट ल्याउँदैछ । 

बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे जानकारी दिएका छन् । 

यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।

प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दा माथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा पालिकालाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ ।यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ ।

समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना समेत ठप्प छन् । 
 

प्रतिक्रिया