इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौं । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । 

पर्वका अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । 

मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका छन । मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम रहने जनविश्वास छ ।

मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दीप–प्रज्वलन गर्नेलगायत क्रियाकलाप हुने गर्दछन । सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बिदा दिएको हो ।

प्रतिक्रिया