अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

लमजुङ ।  पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडक अन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । 

पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै साेमबार बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौ‌ तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए । 

विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहर लगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौ‌ र प्रदेश राजधानी पोखरा लगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।

प्रतिक्रिया