राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।

सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर हुने भएका छन् । विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने हुने भएका छन् । समितिको सभापतिमा यसअघि पनि राई नै रहेका थिए । यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए ।

शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमां) र समर्थकमा सांसद नरबहादुर विष्ट रहनेभएका छन् ।

रासस

प्रतिक्रिया