मन्त्री यादवद्वारा छानबिन समिति गठन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गरेका छन् ।काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनदेखि देखिएको पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गरेका हुन् ।

मन्त्री यादवले मन्त्रिस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्।

उनले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए । बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।

उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिए ।

मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए । उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनामा क्षति पु¥याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री यादवले पाइपलाइन विस्तारका क्रममा गरिएका त्रुटिलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न निर्देशन दिए ।

रासस

प्रतिक्रिया