‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’

सङ्खुवासभा ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताए । सङ्खुवासभाको चैनपुरमा आइतबार जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गदै उनले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरेका छन् । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उनले भने।

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे । नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । रु चार करोड ६१ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिए ।

रासस

प्रतिक्रिया