प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं। आजको लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ। सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो।बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।  

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने  अडान लिएको थियो। दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो।
तर, सत्ता पक्ष आफ्नै अडानमा भएकाले आफूहरू निर्णयबाट ब्याक हुने अवस्था नभएको माओवादी सांसद माधव सापकोटाले बताएका थिए।
त्यसपछि १ बजेका लागि तय बैठक २ बजेलाई सारिए पनि फेरि सवा ३ लाई सारिएको थियो। संसद भवनमा सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि आजको लागि बैठक स्थगित गरिएको हो। 

प्रतिक्रिया