रसुवा नाका भएर भित्रिएको २ लाख किलो जिलेटिन  टिमुरेको बस्तीमा अलपत्र हुँदा पनि थाहा नपाउने जिल्ला प्रशासन

काठमाडौं । जिलेटिन शक्तिशाली बिस्फोटक पदार्थ हो । औद्योगिक प्रतिष्ठान, विकास निर्माण आयोजना लगायतका क्षेत्रमा यसको प्रयोग हुन्छ ।

यो नाइट्रोग्लिसरिन, सल्फर र अमोनियम नाइट्रेटको संयोजनबाट बनेको हुन्छ ।  बिस्फोटक सामग्रीहरूको आपूर्ति, ओसारपसार र भण्डारणलाई व्यवस्थित गर्न नेपाल सरकारले अलग्गै कानुनी प्रबन्ध गरेको छ । यसको प्रयोग गर्दा अति सावधानी अपनाउनु पर्छ । यसको प्रयोगमा  केही तलमाथि भएमा यसले निकै हानी पुर्याउँछ । मानिसको ज्यान समेत जाने खतरा हुन्छ । यस्तो सम्वेदनशील विषयमा सबैले सतर्कता अपनाउन जरुरी छ । 

यसै सन्दर्भमा रसुवाको केरुङ नाकामा केही दिन अघि चाइनिज र नेपाली ट्रकमा लोड  गरेर अलपत्र राखिएको २ लाख किलो जिलेटिन भेटिएको थियो । सुरक्षा सम्वेदनशीलता र उच्च सतर्कता अपनाएर त्यसको ब्यवस्थापन गरेर राखिनु पर्नेमा त्यस्तो नदेखिएपछि एभिन्यूज खबर टेलिभिजनले समचार सम्प्रेषण गरेको थियो । तर त्यो जिलेटिन कसरी र के प्रयोजनका लागि ल्याइएको हो भनेर सरकारी निकाय बेखबर रहेको देखियो । 

रसुवा जिल्लाका भन्सार,सुरक्षा निकाय र प्रशासन नै त्यस्तो सम्बेदनशील पदार्थ भित्रिदा समेत बेखबर हुनु नेपालको सुरक्षा संयन्त्र र सरकारी प्रशासन कति सम्मको गैर जिम्मेवार रहेछ भन्ने कुराको यो दरिलो प्रमाण हो । 

केरुङ नाका हुँदै चीनबाट  २ लाख किलो जिलेटिन नेपाल भित्रिदै गर्दा भन्सार प्रशासन,प्रहरी र जिल्ला प्रशासनलाई थाहा हुनु पर्ने होनि,तर त्यो कुरा कसैलाई थाहा नहुनु लाजमर्दाे विषय हो । रसुवाको भन्सार कटेर ४ किलोमिटर टाढा  त्यहाको बाक्लो बस्ती टिमुरेमा जिलेटिन बोकेर मालबाहक चिनिया ट्रक कसरी आइपुगे ? यसको उत्तर नत भन्सारले दिन सक्यो ? नत प्रहरीले,नत प्रमुख जिल्ला अधिकारी बेद निधि खनालले नै दिन सके । खनालले यसबारे आफूलाई थाहा नै नभएको जवाफ दिए ।

जिल्लाको नेतृत्व गरेर बसेको प्रशासन प्रमुखलाई यस्तो गम्भीर र संवेदनशील कुरा थाहा हुँदैन भने जनताले सर्वसाधारण भने कसरी थाहा पाउने ? बिस्फोटक पदार्थ मानव बस्तीको छेउमा राख्दा त्यसको सम्वेदनशीलता हेरेर त्यसका तत्काल कदम चाल्नु पर्नेमा सबै सरकारी निकाय बेखबर हुनु पटक्कै सुहाउँदो कुरा होइन ।  २ लाख किलो जिलेटिन बिस्फोट भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी कसले लिने ? 

एभिन्यूजले बिस्फोटक पदार्थको सम्वेदनशीलता र त्यसबाट उत्पन्न हुन सक्ने संभावित  जोखिमलाई लिएर खबर प्रवाह गरिरह्यो । यसरी खबर प्रवाह गर्दा उल्टै एभिन्यूजका सम्वाददातामाथि ठेकेदारका मान्छे हौं भन्नेले आक्रमण प्रयास गरेका थिए । एभिन्यूजका सम्वाददाता केदार कोइराला,सुनिल फुयाल,सुधीर फुयाल र राजेश रजकमाथि ढुंगामुढाले आक्रमण प्रयास गरेका थिए । तर ती आक्रमणकारीले प्रहरीले रोकेको थियो ।  यो जिलेटिन कसले र के प्रयोजनका लागि ल्याएको हो भन्ने कुरा अझै भन्सार र जिल्ला प्रशासन कार्यालय रसुवाले बताउन सकेका छैनन् । 


 

प्रतिक्रिया