त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन, घटना शंकास्पद

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । 

ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । 

घटनास्थल पुगेर फर्कदै गरेका रिजालले भने, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहिन भएको हुनसक्ने उनको भनाइ छ ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उनले बताए । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो ।

ट्रक आइतबार बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।
रासस

प्रतिक्रिया