खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ

धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसको भवनमा निर्माण गरिएको ‘केएमसी स्पोट्र्स हल’को  उद्घाटन गरेका छन् ।

उनले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । मुख्यमन्त्री लामाले खेलले मानिसलाई अनुशासित बनाउने र सभ्य नागरिक उत्पादन गर्ने भएकाले आम नागरिक खेलकुद क्षेत्रमा आबद्ध हुन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत प्रदेशभित्र खेलकुदको विकासका लागि विद्यालयस्तरबाट नै खेलक्षेत्रको विकासका लागि सहभागिता बढाउन आवश्यक कार्य गरिरहेको उल्लेख गरेका छन् । उनले नगरपालिकाले पनि खेल पूर्वाधार निर्माणमा सहयोग गर्नु प्रसंशनीय कार्य भएको बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले नगरपालिकाको सक्रियतामा हल निर्माण गरी खेलाडी उत्पादनमा योगदान गरेकामा खुसी व्यक्त गरेका छन् ।

उनले बनेपामा खेल क्षेत्रको विकासका लागि स्थानीय तहले नै लगानी गर्नु सराहनीय भएको र यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले टेबलटेनिस खेललाई लक्षित गरी कभर्ड हल निर्माण गरिएको बताए ।

यसलाई आवश्यकताअनुसार बहुउद्देश्यीय हलका रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो । नगरप्रमुख शाक्यले बनेपा–५ को चाइना टाउनमा निर्माण भएको फुटबल खेलमैदानलाई राष्ट्रियस्तरको बनाउने योजना रहेको सुनाए । काभ्रे क्याम्पससँग सहकार्य गरेर करिब रु ४० लाखको लागतमा टेबलटेनिस बोर्ड, म्याट, ब्याट, बललगायत सामग्री व्यवस्थापन गरिएको उनले जानकारी दिए । “हामी यहाँ खेल क्षेत्रको विकासका लागि सामथ्र्यअनुसार काम गरिरहेका छौँ ।

रु ४० लाखको लागतमा निर्माण गरिएको यो हल त्यसैको उदाहरण हो । दुई महिनादेखि यहाँ खेल प्रशिक्षणसमेत सुरु भइसकेको छ तर आवश्यक सामग्रीसहितको व्यवस्थापन गर्न अझै रकम अभाव भएकाले प्रदेश सरकारलाई सहयोग गर्न मेरो आग्रह छ”, नगरप्रमुख शाक्यले बताए ।नगर उपप्रमुख विमला सापकोटा दाहालले बनेपा नगर क्षेत्रका खेलाडीले पालिका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेर उपाधिसमेत जितेको भन्नुहुँदै यही क्षेत्रमा आवश्यक खेलमैदान बनाउने जग्गा अभाव रहनु दुःखद भएको सुनाएकी छिन् ।

‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने नगरको योजनामा जग्गा व्यवस्थापन नै चुनौतीका रूपमा रहेकाले यसमा सङ्घ र प्रदेश सरकारलाई आवश्यक सहजीकरणका लागि उनिले आग्रह गरेकी छिन् ।

काभ्रे बहुमुखी क्याम्पस प्रमुख केजी वैदारले क्याम्पस भवनको माथिल्लो तलमा निर्माण गरेको हल सिङ्गो क्याम्पसकै लागि ठूलो उपलब्धि भएको बताए । उनले सो हललाई यहाँ अध्ययनरत विद्यार्थी मात्रै नभइ खेलप्रेमी आम युवाहरूले समेत उपयोग गर्न सक्ने बताए ।

रासस

प्रतिक्रिया