सिरहाको शैक्षिक क्षेत्र  जीर्ण बन्दै गएको सरोकारवालाको गुनासो

सिरहा । स्थानीय सरकारको हातमा शिक्षाको साँचो हुँदा–हुँदै पनि शिक्षा क्षेत्र जीर्ण बन्दै जादा पनि स्थानीय सरकार बेखबर रहेको बक्ताहरुले बताएका छन् । 

शनिबार ६० औं राष्ट्रिय बाल दिबस २०८१ को अवसरमा सिरहामा आयोजित स्थानीय शिक्षा क्षेत्रमा देखिएका समस्याहरु चुनौति र समाधानका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै वक्ताहरुले जनप्रतिनिधिले शिक्षालाई महत्वपूर्ण पाटोमा नराख्दा हालको शिक्षा झन खस्किदै गइरहेको गुनासो पोखे । कार्यक्रममा  जिल्ला शिक्षा समन्वय समिति सिरहाका प्रमुख दिपक राज कनौलीले शिक्षा क्षेत्रमा संघीय,प्रादेशिक र स्थानीय तहमा समस्या रहेको औंल्याउदै हाल शिक्षा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताए । 

कनौलीले, स्थानीय तहले आफ्नो मनोमामानीमा हुँदै नभएको ऐन–नियम लागू गरि उथल–पुथल गर्दै आएको दाबी गरे । कार्यक्रममा बरिष्ठ पत्रकार राम रिझन यादवले अरु जिल्ला भन्दा सिरहा जिल्ला शैक्षिक क्षेत्रमा धेरै नै पछाडी रहेको बताए । उनले,जनप्रतिनिधिले सडक र बाटो बनाउनु नै बिकास भएको मान्यता राखेकाले सो मानसिकता नसुध्रिए शिक्षामा  पछाडी नै रह्ने बताए । 


स्थानीय विद्यालयका शिक्षक प्रतिनिधिहरुले स्थानीय तहबाट  अपहेलित भएको भन्दै  स्थानीय तहले शैक्षिक गुणस्तर र शिक्षामा गुणात्मक सुधार अनुसारको आधुनिक  तालिम र सेवा सुबिधा नथपिदिदा आफूहरुलाई अप्ठेरो परेको गुनासो पोखे ।

प्रतिक्रिया