युक्रेनलाई क्लस्टर बम दिने अमेरिकाको निर्णयमा सहयोगी राष्ट्र असन्तुष्ट

युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने अमेरिकी निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने निर्णय गरेपछि त्यसमा शक्ति राष्ट्रले असन्तुष्टि जनाएका हुन । बेलायत, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू सो अस्त्र प्रयोगको विरुद्ध रहेको प्रतिक्रिया दिएका हुन । मानव अधिकार समूहहरूले पनि निर्णयको आलोचना गरेका छन । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पनि निर्णयप्रति असन्तुष्टि जनाएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आफुहरु क्लस्टर बम प्रयोगको विपक्षमा रहेको जनाएको छ । न्यूजिल्यान्डका प्रधानम्न्त्री क्रिस हिप्किन्सले बमले अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पु¥याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने बताएका छन । स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको उल्लेख गरेकी छन । क्यानडाले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ । जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ । युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरूमा प्रयोग गरिने बताएका छन् ।  एमनेस्टी इन्टरनेशनलले क्लस्टर अस्त्रहरू द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा बन्न सक्ने चेतावनी दिएको छ । क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित रहेको छ । क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने गर्दछ । अमेरिकाको निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलग्घन समेत भएको छ । अमेरिका, युक्रेन र रुसले सो अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गर्दै आएका छन ।

प्रतिक्रिया