संसदीय छानबिन विशेष समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग छलफल गर्ने भएको छ । 

शनिबार बेलुका ५ बजे  सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न लागेको हो । समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो । 

समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए । संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ । यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । 

समितिले तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार गर्न नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ । 
 

प्रतिक्रिया