आज ६०औँ राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौं । शनिबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी” भन्ने नाराका साथ शनिबार ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइदैछ । 

नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो । २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो । 

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । 

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

प्रतिक्रिया