जति पटक गए पनि कहिले धीत नमर्ने  घोरेपानी

शशी पन्त

पुस्तकको अध्ययन र यात्राले हाम्रो जीवनमा नयाँ उर्जा प्रदान गर्छ भन्ने मेरो विश्वास छ । त्यसैले मौका मिल्नासाथ म यात्राको अवसर खोज्न थालिहाल्छु । 

जति पटक गए पनि कहिले धीत नमर्ने ठाउँ घोरेपानी, पुनहिल । पहिलोपटक पुस महिनामा पुगेकी थिएँ । त्यतिखेर हिउँले भुइँ सेताम्य थियो । पाखैभरि लालीगुराँसका हरिया बोट मात्रै थिए । त्यतिबेला नै त्यो हरियो पाखाले लालीगुराँसको पछ्यौरा ओढेको हेर्ने निकै रहर जागेको थियो र मनमनै एकपटक आएर सुन्दर दृश्यावलोकन गर्ने प्रतिज्ञा पनि गरेकी थिएँ । 

२०८० साल चैतको महिना थियो । सामाजिक सञ्जालभरि लालीगुराँसका तस्बिरहरू बाक्लै छाउन थालेका थिए । मेरो मनलाई ती तस्बिरहरूले निकै लोभ्याएका थिए । मेरो तन भरतपुरमा भए पनि मन भने तिनै लालीगुराँसका पाखा–पाखामा डुलिरहेको थियो । संयोगवस् विद्यालय पनि विदा भयो । त्यसपछि त झन् मेरो मनलाई गोडाले पनि साथ दिने अवसर पाइहाले । लालीगुराँस हेर्ने उत्कट चाहनाले वशीभूत भएर अन्ततः मैले लालीगुराँसको जङ्गलमा पदयात्रा गर्ने निर्णय गरेँ ।

योभन्दा पहिले तिखे ढुङ्गा, उल्लेरी, वनठाँटी हुँदै यात्रा गरेको हुँदा यसपटक भने अलि फरक पथबाट यात्रा गर्ने सोच बनाएँ । त्यसकारण भरतपुरबाट गाडी चढेर म्याग्दीको तातोपानी पुगेँ । चितवनको गर्मीबाट एक्कासी त्यहाँ पुग्दा भने निकै चिसो अनुभूति भयो । कालीगण्डकीको छेवैमा रहेको सानो बजार अनि त्यो साँझको रमाइलो वातावरणमा एक चक्कर लगाएँ र खाना खाएँ । तातोपानीको चिसो मौसम, कालीगण्डकीको सुसेली अनि दिनभरको यात्राको थकाइ कतिबेला निदाएछु पत्तै भएन ।  

पदयात्रा आफैमा अविस्मरणीय र रोमाञ्चक अनुभवको पुञ्ज हो । भोलिपल्ट बिहानै तातोपानीबाट घोरेपानी तर्फको पदयात्रा सुरु भयो । नयाँ बाटो, नयाँ ठाउँ यात्रा रमाइलो नहुने त कुरै भएन । त्यसमाथि पनि त्यहाँका स्थानीय बासीहरूसँग गफ गर्दै दही, मोही पिउँदै हिँडनुको आनन्द शब्दमा त कसरी व्यक्त गर्न सकिन्छ र ! गाउँका मानिसहरू इमान्दार, दयालु अनि उदार हृदयका हुन्छन् । अपरिचित व्यक्सिँग पनि उनीहरूले गर्ने व्यवहार भने आत्मीय मित्रलाई गर्ने जस्तै हुन्छ । साना बच्चहरू पनि बाटोमा नयाँ मान्छे देख्नासाथ झुकेर नमस्कार गर्ने कति राम्रो संस्कार ! अलिकति फरक भूगोलमा टेक्नासाथ त्यहाँको फरक संस्कृतिको फरक स्वाद चाख्न पाइहालिन्छ । हल्लेखर्क, घारागाउँ, सिखागाउँ हुँदै मेरो यात्रा अगाडि बढ्यो । 

यात्राको क्रममा कति नयाँ दृश्य त कति प्रेरणादायी दृश्य पनि देखिन्छन् । उकालो चढ्दै जाँदा एउटा दुश्यले भने मलाई निकै सोचमग्न बनायो । अन्दाजी १८/२० वर्षको एउटा युवक जसले पिठ्युमा पर्यटकको ठूलो भारी बोकेका थिए भने उनको हातमा पुस्तक थियो । पुस्तक मात्र थिएन, त्यो उकालोमा पनि उनी अध्ययनमा निकै तल्लिन देखिन्थे ।  लाग्यो उनले आफ्नो लक्ष्यमा पुग्न यति धेरै मिहिनेत गरिरहेछन् । साँच्चिकै मान्छेमा इच्छाशक्ति भयो भने केहीले पनि र कसैले पनि रोक्न सक्दैन भन्ने ज्वलन्त उदाहरण थियो । यो देखेपछि भने म चुप रहन सकिनँ र समीपमै पुगेर छोटो कुराकानी गरी अनुमति लिएर उनको एउटा तस्बिर पनि आफ्नो क्यामेरामा कैद गरेँ । 

उकालो चढ्दै जाँदा केही लालाीगुराँसका बोटहरू टाढैबाट देखिन थाले । त्यसपछि त म नाङ्गा हातहरूले लालीगुराँसलाई स्पर्श गर्न झन् बढी उत्सुक र अधैर्य भएँ । सुरुमा देखेको बोट मेरो लागि अति नै प्रिय भयो । त्यो बोटमुनि यति धेरै फोटो, भिडियो बनाएँ अनि लालिगुराँसलाई कयौ पटक सुम्सुमाएँ । 

त्यति धेरै उचाइँमा पुगिनसकेको हुँदा २/४ बोट मात्र देखिएका रहेछन् तर मलाई भने लालीगुराँसको घना जङ्गल यही हो जस्तो भान भइरहेको थियो । मन निकै प्रफुल्ल भएको थियो । सायद पहिलो पटक म यति धेरै खुसी थिएँ । ओहो ! जति माथि चढ्यो उति नै बाक्लो लालीगुराँसको जङ्ल अनि विभिन्न प्रजाति र विभिन्न रङका । त्यो दिनभरि नै लालिगुराँसको जङ्गलको यात्रा गर्दै साँझमा घोरेपानी पुगेँ ।
 सिमसिम पानी परिरहेको थियो । निकै चिसो अनुभूति भएको थियो । होटेलहरू सबैजसो भरिभराउ थिए । २/३ ओटा होटेल चहारेपछि बल्ल बस्ने ठाउँ पाएँ । त्यसपछि भने आगो ताप्दै चिसो शरीरलाई न्यानो पारेँ र दिनभरिको थकाइलाई सुस्ताएँ । 

यसपटक भने म पुनहिल सम्म पुगिनँ किनकी मेरो लक्ष्य भनेको लालीगुराँसमा आफूलाई हराउनु थियो । मसँग पर्याप्त समय हुँदो हो त पुनहिलसम्म पुग्न उत्सुक पनि हुन्थेँ । टाढापानी हुँदै फर्किँदा झनै धेरैभन्दा धेरै लालीगुराँस नियाल्न पाइन्छ भन्ने थाहा पाएपछि भने मैले त्यही बाटो हुँदै फर्किने निर्णय गरेँ । 

लालाीगुराँससँग पोज दिएर फोटो खिच्दै बिहानको चियानास्ता गरी टाढापानी तर्फको यात्रामा लागेँ । धेरैभन्दा धेरै लालीगुराँसको जङ्लमा टेक्ने उत्कट अभिलाषाले मलाई निरन्तर अगाडि धकेलिरह्यो । यो बाटो भने मेरो लागि पूरै नयाँ थियो । बाटोभरि यति ढकमक्क लालीगुराँस फुलेको थियो कि त्यो दृश्य देखेर म बेलाबेलामा खुशीले बच्चाजस्तै चिच्याउँथेँ । म मात्र हैन, अन्य पर्यटकहरू पनि उत्तिकै दङ्ग पर्दै रमाइरहेका थिए । 

घोरेपानीबाट टाँडापानी जाने क्रममा बाटोमा पर्ने ३ हजार १६५ मिटरको उचाइमा अवस्थित थाप्लाडाँडा जुन पर्यटकको गन्तव्यमध्ये एक मानिने रहेछ । त्यहाँबाट ढकमक्क फुलेको लालीगुराँसको जङ्ल अनि अगाडि शिर ठाडो पारेर उभिएका हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने रहेछ । त्यहाँको त्यो सुन्दर दृश्यले जो कोहीको मन पनि सजिलै हर्न सक्ने रहेछ । त्यो दृश्यलाई नियाल्दाको आनन्दानुभूति शब्दमा बयान गर्न कहाँ सम्भव छ र ! आँखाले अघाउन्जेल हेरेँ अनि मनले स्पर्श गरेँ । थाप्लाडाँडाबाट जति अगाडि बढ्दै जान्थेँ त्यत्ति नै लालीगुराँसको घना जङ्गल आउँथ्यो । बोटमा मात्र लालीगुराँस नभई भुइँमा पनि लालीगुराँसको गलैँचा ओछ्याइएको थियो । भुइँमा झरेको लालीगुराँस भने सँगालेर जुस र चिया बनाउन सकिने रहेछ । बाटोमा बिचबिचमा साना साना होटलहरू थिए । चारैतिर लालीगुराँसले ढाकिएको त्यो सुन्दर दृश्यावलोकन गर्दै चिया पिउनुको मज्जा त ओहो ! त्यो वनठाँटीको ट्रेङ्क्युलिटी गेस्ट हाउसमा बसेर चिया पिउँदाको क्षण ! अहिले स्मरण गर्दा मात्र पनि मन चङ्गा हुन्छ । बाटोभरि धीत मरुन्जेल लालीगुराँसको जङ्गलमा आँखालाई विचरण गराएँ, हातले स्पर्श गरेँ, फोटो खिचेँ, भिडियो बनाएँ । 

दिउँसो तीन बजेतिर टाँडापानी आइपुगेँ । त्यहाँ पर्यटकको उत्तिकै घुइँचो थियो । वरिपरि लालीगुराँसले सजिएका ती होटलहरु पनि गुराँसजस्तै मुस्कुराइरहेजस्ता देखिन्थे । वरिपरि ढकमक्क फुलेका लालीगुराँस, चिसो मौसम अनि तातो थुक्पाको स्वाद निकै मिठो भएको थियो । त्यो भन्दा नि अझै बढी मिठास त त्यो होटेलकी आमैको बोलीमा थियो । साँच्चिकै उनले पर्यटकलाई गर्ने व्यवहार देख्दा उनमा पर्यटन व्यवसायको राम्रो कला भएको कुरा स्पष्टसँग झल्किन्थ्यो । 

टाँढापानीबाट घान्द्रुकतिर झर्दै गर्दा भने विस्तारै लालीगुराँस पातलिँदै जान थालेको थियो । पाखामा पातलिए पनि आँखामा भने उत्तिकै घना बनेर बसेको थियो । तेस्रो रात भने गुरुङ संस्कृतिको छुट्टै पहिचान बोकेको घान्द्रुक गाउँमा आएर बसेँ । मेरो तन घान्दु्रकमा भए पनि आँखाभरि रातै लालीगुराँसको जङ्गल मात्र छाइरहेको थियो, मनभरि बाटोका रोमाञ्चक क्षण । रातभरि नै त्यही जङ्लमा हिँडिरहेको भान भएको थियो । त्यो स्थानलाई छोडे पनि मलाई त्यहाँ बिताएको छोटो तर रोमाञ्चक क्षणहरूले भने पछ्याइरहे । म ती सुन्दर दृश्य र रमाइला अनुभव सँगाल्दै चौथो दिन घरतर्फ पाइला चालेँ । यो चार दिनको छोटो यात्रामा दुई दिन पूरै आफूलाई लालीगुराँससँगै जङ्गलभित्र हराउन पाएकोमा निकै प्रफुल्ल भएँ ।

फर्कदा भने म मनमनै भगवानसँग प्रार्थना गरिरहेकी थिएँ । प्रकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश । यस्ता  प्रकृतिक सुन्दरताहरू सृष्टिको अस्तित्व रहेसम्म विश्व मानचित्रबाट लुप्त नहोऊन् । म जस्तै हाम्रा सन्ततिहरूले पनि प्रकृतिको अलौकिक सौन्दर्य स्पर्श गरिरहन पाऊन् ।

भरतपुर, चितवन

प्रतिक्रिया