प्रधान न्यायाधीय सिफारिसबारे थप अध्ययन गर्दै परिषद्

काठमाडौ‌ । संवैधानिक परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ ।

बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेका थिए । 

सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसदमा संसदीय सुनुवाई समितिमा पठाउनेछ ।

परिषद्को यही भदौ ३१ गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानाले दिए ।  परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै उलले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने बताए । 

प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए । 


 

प्रतिक्रिया