इन्द्रजात्रा लक्षित सुरक्षाका सबै तयारी पुरा

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको इन्द्रजात्रालाई सुरक्षित ढंगले सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार काठमाडौंको हनुमानढोकामा इन्द्रजात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि अपनाउनुपर्ने शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन सम्वन्धी अन्तरक्रियामा नेपाल प्रहरीले जात्राका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो । 

जात्रामा झैझगडा हुन नदिन उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिनुका साथै जात्रा हुने ठाउँमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन आवश्यक तयारी गरिएको प्रहरीको भनाइ छ । अन्तरक्रियामा इन्द्रजात्रा व्यवस्थापन समिति, इन्द्रजात्रामा निकालिने सबै देवताका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधि सहभागी भएका थिए ।

आगामी आइतबार इन्द्रध्वजोत्थान गरेपछि ७ दिनसम्म मनाइने जात्रा विधिबत रुपमा शुरु हुनेछ । जात्रा अवधिमा विभिन्न स्थानमा कुमारी, भैरव, गणेशको रथयात्राका साथै विभिन्न देवीदेताका नाँचहरु प्रदर्शन गर्ने गरिन्छ ।

प्रतिक्रिया