कैलालीमा दुई दिनदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौं । कैलालीमा दुई दिनदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षापछि बाढी नदी तथा खोलाहरुमा आएको बाढीले जोखिममा परेका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको छ । यसैगरी, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जनालाई पनि सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यस्तै, जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारका ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ । पछिल्लो छ घण्टामा कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएको जल तथा मौसमविज्ञान विभागले जानकारी दिएको छ । वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।

कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको जनाइएको छ । यसैगरी, मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया