क्षतिपूर्ति दिने सहमतिपछि वीरगन्ज आईसीपी चोकको आन्दोलन स्थगित

वीरगन्ज। वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (आईसीपी) चोकमा बिहीबारदेखि स्थानीयले गर्दै आएको प्रदर्शन सहितको आन्दोलन स्थगित भएको छ। ट्यांकरको ठक्करबाट मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएपछि आन्दोलन स्थगित भएको हो।   
जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार भएको वार्तामा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्ति स्परुप यातायात व्यवसायीले ९ लाख ५० हजार रुपैयाँ दिने, अस्पतालमा लागेको उपचार खर्च व्यहोर्ने र दुर्घटनामा परेको मोटरसाइकल मर्मत पनि गरिदिने लगायतका सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो। वार्तामा मृतक युवकका परिवार र आफन्त, यातायात व्यवसायीका प्रतिनिधि, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको  सहभागीता थियो।  वार्तामा सहमति भएपछि शव नारायणी अस्पतालमा पोस्टमार्टम गरेर परिवारजनले बुझेर अन्त्येष्टिका लागि लगेका छन् ।  

वीरगन्ज–१७ अलौंस्थित आईसीपी चोकमा बिहीबार अपरान्ह साढे ३ बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २३ वर्षीय रवि कुमार साह तुराहा गम्भीर घाइते भएका थिए ।  वीरगन्जको गण्डकस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति नै उनको मृत्यु भएको थियो।

दुर्घटना लगत्तै अलौंका स्थानीयवासीले बिहीबार अपरान्हदेखि नै आईसीपी चोकस्थित सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध गरेका थिए। 

प्रतिक्रिया