समाजवादी मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन, नेतृत्वमा छ महिने आलोपालो

काठमाडौ । समाजवादी मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको पहिलो बैठकले नीति तथा कार्यक्रम बनाउन कार्यदल गठन गरेको हो ।

जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश गरेर पारित गरिने छ ।

त्यस्तै, मोर्चाले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । कार्यक्रमको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने बताइएको छ । मोर्चाको बैठकको अध्यक्षता ६÷६ महिनामा परिवर्तन गर्ने समझदारी पनि दलहरुबीच भएको छ । समझदारी नटुंगेसम्म भने माधव नेपालले नै अध्यक्षता गर्ने मोर्चाले जनाएको छ । चार दलले असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।

प्रतिक्रिया