जाम्बिया द्वारा नेपालको खानी उत्खननमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौ‌ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । 

उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुबै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराए । 

मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताए । 

    
जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उनले बताए । 

राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याए । 

सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी  थिए । 
 

प्रतिक्रिया