न्यायाधीशवाट सफाई पाएका हत्या आरोपीलाई अदालतबाट जन्मकैदको सजाय

काठमाडौं । तत्कालीन जिल्ला न्यायाधीश परशुराम भट्टराईले हत्या मुद्दामा सफाइ दिएका प्रतिवादीलाई उच्च अदालत जनकपुरले जन्मकैदको सजाय सुनाएको छ । 

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले ज्यान मुद्दाका मुख्य प्रतिवादी पंकज चौधरी भन्ने दामोदर चौधरीलाई जन्मकैदको सजाय सुनाएको हो । 

चौधरीलाई जन्मकैदको सजाय गर्नुका साथै उनीबाट पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन तथा २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसलामा उल्लेख छ । त्यसैगरी, चौधरीलाई हातहतियार तथा खरखजना मुद्दामा पनि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा. परशुराम भट्टराईलाई जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा दिएका थिए । 

भट्टराईसहित ३ जना जिल्ला न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन आयोग गठन भएको थियो । आयोग गठन भएसँगै न्यायाधीश स्वतः निलम्बनमा परेका थिए । २०७६ कात्तिक ६ गते जनकपुर एकका पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न दामोदर चौधरीलाई आजीवन कैद सजाय माग गरिएकोमा  न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए । 

प्रतिक्रिया