युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशलाई रुसको चेतावनी

एजेन्सी । युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशलाई रुसले चेतावनी दिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने र नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने बताएका हुन । पश्चिमा देशमा निर्मित लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गरेमा आफूसामु सिर्जित जोखिमलाई ध्यान दिएर रुसले आवश्यक निर्णय गर्ने पनि उनले बताए । 

राष्ट्रपति पुटिनले युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामथ्र्य नरहेको दाबी पनि गरे । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पश्चिमा साझेदारहरूलाई सीमापारि रहेका निसानाहरूमा हमला गर्न उनीहरूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् । 

युक्रेनको पछिल्लो घटनाक्रमबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ह्वाइटहाउसमा वार्ता हुनुअघि पुटिनको भनाइ सार्वजनिक भएको हो । स्टार्मर अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया