भारतमा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो ३६ घण्टामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ । 

उत्तर प्रदेश मा ३२ जना, मध्य प्रदेशमा ११ जना र राजस्थानमा ४ जनाको मृत्यु भएको हो । धेरैजसोकोे वर्षाले घर र छत भत्किएर पुरिँदा मृत्यु भएको बताइएको छ । घटनामा परि धेरै मानिस घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण उनीहरुको मृत्यु भएको हो । पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । 

यता भारी वर्षाकै कारण तीर्थयात्रीहरुलाई केदारनाथ मन्दिरमा यात्रा गर्न रोक लगाइएको छ । शुक्रबार प्रदेश सरकारले प्रदेशका सबै विद्यालयहरु पनि बन्द गर्न आदेश दिएको छ । आगामी तीनदिन हिमाञ्चल र उत्तराखण्डसहित १४ राज्यमा भारी वर्षा जारी रहने चेतावनी मौसम विभागले दिएको छ ।
 
 

प्रतिक्रिया