बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

बागलुङ । बागलुङ दुर्घटनामा मृत्यु हुने एक जना महिलाको शव पहिचान भएको छ । 

मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा तीन जनाको मृत्यु भएपनि अन्य दुई जनाको पहिचान खुलेको छैन । 

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।  

गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलबाट एकजनालाई जिवितै उद्धार गरिएको छ । घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि पठाईएको छ । दुर्घटना कतिबेला भएको भन्ने खुलेको छैन । 

स्थानीयले घाँस काट्न जाने बेला दुर्घटना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेपछि दुर्घटनाको जानकारी प्रहरीले पाएको थियो । 

प्रतिक्रिया