झापामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुग्यो

झापा । झापाको अर्जुनधारा नगरपालिका–९स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । 

बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ जना र मनमोहन अस्पतालमा ३ जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको हो । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो पूजामा प्रसाद खानेहरु बिरामी परेका हुन् ।

‘फुड पोइजन’ (खाना बिष) भइ उनीहरु बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ । पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा उच्च ज्वरो देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

सबै बिरामीको अजुर्नधारा नगरपालिकाले निःशुल्क उपचार गर्ने जनाएको छ । 

प्रतिक्रिया