एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठक १ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुर बस्नेछ ।

शुक्रबारको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ ।  

सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।  

बैठकमा पोलिटब्युरो बैठकबाट आएका सुझाव समेटेर वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने तयारी एमालेको छ । कार्ययोजनामा संगठित सदस्यता र संगठन विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने, आगामी एक वर्षभित्रै १० लाख सदस्यता पर्‍याउने लगायतका योजना रहेको बताइएको छ  । 

प्रतिक्रिया