कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ:  नेता कोइराला

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

बी.पी. चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा बिहीबार पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले यस्तो बताएका हुन् । 

युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उनले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताए । नेपालमा थुप्रै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बी.पी. कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताए ।  प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उनको भनाइ थियो । कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताए । 

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आबद्ध भएको नेपालमा कृषिलाई वैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी रहेको बताए । 

    

प्रतिक्रिया