भारतको ओडिशामा भएको रेल दुर्घटनालाई लिएर तीन रेलवे कर्मचारी पक्राउ, लापरबाहीका कारण दुर्घटना भएको सीबीआईको ठहर

काठमाडौ । भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको छ ।

केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो । पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

कानूनको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजायमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ । यी तीन जनाकोे लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेसनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो ।

बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २ सय ९२ जनाको मृत्यु भएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए ।
 

प्रतिक्रिया