झापामा पूजाको प्रसाद खाँदा ७० जना भन्दा बढी बिरामी

काठमाडौं । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ७० जनाभन्दा बढी बिरामी परेका छन् । खानामा विशाक्त पदार्थ मिसिएका कारण उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा  मंगलबार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । 

सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको एक बिरामीले बताए ।  प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् ।  बिरामी परेका अधिकांश बिरामीको नगरको अस्पतालमा उपचार भईरहेको छ ।  केहिको स्थानिय  क्लिनिक, मेचि प्रादेशिक अस्पताल र बिएण्डसिमा  उपचार भइरहेको छ ।

यस्तै, गाउँकै अन्य क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको बताइएको छ । क्लिनकमा बेड अभाव भएर बार्दली, कम्पाउण्ड, बेञ्चलगायतका स्थानमा बिरामीको उपचार भइरहेको छ ।  यसैबीच, झापका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोला, प्रहरी प्रमुख मिलन केसी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया