निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताएका छन् ।नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा बिहिबार मोरङको कटहरीस्थित  कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उनले भने सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि  क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ सङ्कल्पित रहेको जानकारी दिए ।

उनले भने मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यक्ता रहेको चर्चा गरेका छन् । उनले भने प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास गरेका छन् ।उनले भने निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१–९१ कृषि लगानी दशक घोषणा गरेको जानकारी दिए । उनले भने उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भइ कृषिमा व्यवसायीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवर्द्धनमा सहयोग पु(याउनु पर्नेमा जोड दिएका छन् । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राखेका छन् ।चार दिन सम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् ।

स्टलमा कोशी प्रदेश, भारतको विहार र बङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषि पन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुयाउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

रासस

प्रतिक्रिया