क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आईसीसी विश्वकप लिग–२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। केही महिनाअघि टी-२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ। 

लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ। क्यानले सोमबार लिग २ का लागि टोली घोषणा गरेको छ।

देव खनाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको टोलीमा अरु १५ सदस्य छन्। रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

प्रतिक्रिया