गाजामा इजरायली आक्रमणमा ६ जना राष्ट्रसंघका कर्मचारी परे

एजेन्सी । इजरायलले प्योलेष्टाइनको गाजामा आक्रमण गर्दा संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीको मृत्यु भएको छ । 

प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (अनर्वा) ले जनाए अनुसार  मध्य गाजामा सञ्चालित एक विद्यालयमा इजरायली हवाई आक्रमणमा ६ जना कर्मचारीको मृत्यु भएको हो । इजरायली सेनाले उक्त विद्यालयको प्रयोग गरेर आक्रमणको योजना बनाइरहेका ’आतङ्ककारीहरूमाथि सटिक हमला’ गरेको र सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सचेत भएको जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गर्दै एक्स(ट्वीटर)मा लेखेका छन् – ’गाजामा जे भइरहेको छ, त्यो पूर्णरुपमा अस्वीकार्य छ ।’अन्तर्राष्ट्रिय मानवीय कानुनको यो नाटकीय उल्लङ्घन अब रोक्न आवश्यक छ,’ ।

गत वर्ष अक्टोबरमा इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच युद्ध सुरु भएयता यो आक्रमणमा ’एकै घटनामा हाम्रा कर्मचारीमध्ये सबैभन्दा बढी मृत्यु भएको’ पहिलो घटना भएको अनर्वाले जनाएको छ ।
गत जुलाईमा इजरायली सेनाले हमासका लडाकुले प्रयोग गर्दै आएको विद्यालयका विभिन्न संरचनालाई लक्षित गरी गरिएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको थियो ।

 राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले गुटेरसको आलोचनाको गरेका छन् ।उनले  राष्ट्रसंघले आतङ्कवादीविरुद्धको न्यायोचित युद्धमा इजरायलको निन्दा गरिरहनु औचित्य नभएको बताएका छन् ।  हमासले महिला र बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरेर इजरायलमाथि आक्रमण गर्न खोजेको पनि ड्यानीले बताएका छन् । 

इजरायली सेनाले ७ अक्टोबरमा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रतिक्रिया स्वरूप हमासलाई नष्ट गर्ने अभियान चलाएको थियो ।  हमासले इजरायलमागि आक्रमण गरेर १२ सय इजरायलीको हत्या गरेको थियो । अन्य २५१ ज्ना इजरायलीलाई बन्धकको रूपमा गाजामा  लगिएको थियो।

त्यसयता गाजामा ४१ हजार ८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया