प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म राष्ट्रियसभा बैठक चल्न नदिने एमालेको अडान
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै राष्ट्रिय सभाको बैठक आज तेस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबारदेखि लगातार बैठक अवरुद्ध गरेको एमालेले आज पनि राजीनामा दिनुपर्ने अडान राखेको हो ।
बैठकमा एमाले सदस्य विमला घिमिरेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले मुलुकको सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डतामा आँच पुगेको भन्दै राजीनामा दिनुपर्ने अडान दोहो¥याइएन ।
सदस्य घिमिरेले नेपालको प्रधानमन्त्री संसदले बनाउने हो कि दिल्लीलाई खुसी बनाएर पाउने भन्ने प्रश्न समेत गरिन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेपछि बैठक स्थगित गरेका छन । उनले संसदमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह समेत गरे ।
संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रिय सभाको भूमिका न्युन हुन जाने अध्यक्ष तिमल्सिनाको भनाइ छ । राष्ट्रिय सभाको बुधबारदेखि नै विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । तर निरन्तरको अवरोधका कारण बैठक कार्यसूचिमै प्रवेश गर्न सकेको छैन । राष्ट्रिय सभाको अर्को बैठक आइतबार बोलाइएको छ ।
प्रतिक्रिया