इजरायलले मध्य गाजामा रहेको विद्यालयमा आक्रमण गर्दा १८ जनाको मृत्यु

एजेन्सी । इजरायलको सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जाउनी विद्यालयमा बमबारी गर्दा १८ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसंघीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारी आक्रमणमा मारिएका हुन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र संघका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन् । 

गाजामा इजरायलले आक्रमण सुरु गरे यता ११ महिनामा एउटै घटनामा राष्ट्रसंघका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना भएको समाचारमा उल्लेख छ । यसैबिच हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसंघले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्त बिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ । 

गाजामा इजरायलको हमलाबाट ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् ।
 

प्रतिक्रिया