सर्लाहीमा सबैभन्दा बढी विद्युत चुहावट

सर्लाही । मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी विद्युत चुहावट हुने गरेको नेपाल विद्युत प्राधिकरणको तथ्यांकले देखाएको छ । 

प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सर्लाहीको मलंगवा वितरण केन्द्रमा हुने देखिएको हो । आर्थिक वर्ष २०८०/०८१ मा मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४२ दशमलब ९७ प्रतिशत रहेको वितरण केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्षमा १.३१ प्रतिशतले चुहावट बढेको हो । अघिल्लो आर्थिक वर्षमा जम्मा विद्युत चुहावट ४१.६३ प्रतिशत रहेको थियो ।  नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण अभियानका कारण पनि चुहावट बढेको बताइन्छ । 

गत वर्ष ३ करोड ३४ लाख ५३ हजार ७६९ युनिट विद्युत चुहावट भएको कार्यालयको तथ्यांक छ । गत वर्ष केन्द्रले बिजुली चोरी गरिरहेका ३ सय ७९ जना व्यक्तिमार्फत २ करोड ९४ लाख १ हजार ४७० रुपैयाँ जरिवाना उठाएको छ । 

त्यस्तै, अनियमितता गरेका २ हजार ४ सय ५९ जना ग्राहकहरुको लाइन काटिएको छ । चालु वर्षमा विद्युत चुहावट ३० प्रतिशतमा झार्ने लक्ष्य केन्द्रको छ ।

प्रतिक्रिया