तिलिचो ताल घुम्न जाने आन्तरिक पर्यटक बढे

मनाङ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल पुग्ने आन्तरिक पर्यटक बढेका छन् । 

सामुन्द्रिक सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा पर्ने तालको मनोरम दृश्यले बाह्यसँगै आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याउने गरेको छ । 

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि तिलिचो पुग्ने गर्दछन् । 

धेरै अग्लो स्थानमा रहेको र हिमालहरु नजीकै रहेकाले चिसो र लेक लाग्ने सम्भावनाका कारण यस ताल अवलोकन गर्नेको लागि कात्तिकदेखि मङ्सिरसम्मको समय बढी उपयुक्त मानिन्छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । 

यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ । 

प्रतिक्रिया