संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बैठक बोलाएको बैठक स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको हो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेदेखि अवकाश हुने भएका छन् । बहालवाला प्रधानन्यायाधीश अवकाश हुने भन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

रासस

प्रतिक्रिया