काठमाडौंमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन् । 

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उनले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिएका हुन् । 

उनले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिए । 

यसैगरी, मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गरे । 

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गरे । 

अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिए ।  समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उनले स्पष्ट पारे  । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भने, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।” 

खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिए । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौं । उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया