बसन्तपुरमा इन्द्रजात्राका‍े तयारी अन्तिम चरणमा

काठमाडौं । यँ :या अर्थात इन्द्रजात्राका‍े लागि बसन्तपुर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ । 

इन्द्रजात्राको तयारी स्वरूप बसन्तपुर क्षेत्रमा रथ बनाउने काम भइरहेको हो । जात्राको क्रममा तानिने तीन वटै रथहरू अहिले बसन्तपुरमा राखिएका छन् । त्यसैगरी सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ । यःसिं भक्तपुरबाट बसन्तपुरसम्म पुर्‍याएपछि आईतबार बिहान ८ बजेर २६ मिनेटमा इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको यःसिंरु उठाइने साईत छ ।

असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिनेछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्रामा यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरू हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ । 

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ । इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।  इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आठ दिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ । यस अवधिमा अनुहारमा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धूमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ ।

प्रतिक्रिया