दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल योग खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा  यही भदौ २९ गतेदेखि ‘दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष केदारनाथ बस्ताकोटीले तारेश्वर नगरपालिकाको सहकार्यमा योगलाई खेलकुदसँग जोड्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिता तारकेश्वरमा हुने भएको छ ।

योग प्रशिक्षण गराइरहेका विभिन्न विद्यालय तथा योग खेलाडी गरी दुई सय ३२ र एक सय ३० सामूहिक गरी तीन सय ६२ जना सहभागी हुने भएका छन् ।

प्रतियोगितामा एकल प्रतिस्पर्धा र सङ्गीतमय (रिदमिक) सामूहिक योगासन प्रतिस्पर्धा पनि हुने भएको छ । प्रतियोगितामा नौ वर्ष उमेर मुनिदेखि ५० वर्ष उमेर माथिका खेलाडीले समेत सहभागिता जनाउने भएका छन् । आसनलाई खेलको रुपमा विकास गर्नका लागि प्रतियोगिता गरिएको अध्यक्ष बस्ताकोटीले बताए।

उनकानुसार नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न नेपालमै  विभिन्न स्तरका तीन वटा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता, पाँच वटा राष्ट्रिय प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिए । नेपालको मौलिक खेलको रूपमा रहेको योगासन खेलले मानिसलाई योगमा जोड्ने विश्वास गरिएको छ ।

रासस 

प्रतिक्रिया