पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक: महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन् ।

बिपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताएका छन् ।

पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ”, उनले भने, “पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनतासमक्ष पु¥याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुनुपर्ने महतले बताए ।

वृक्षरोपण,रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिइ यस्ता गतिविधि बढाउन उनले आग्रह गरेका छन् ।तरुण दलको अगुवाइमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उनले प्रशंसा गरेका छन् ।

दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बिपी कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रममार्फत जनताको मन जित्नुभएको हो” प्रवक्ता महतले भने ,“अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बिपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ ।

यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढवा दिनुपर्दछ । जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उनले आह्वान गरेका छन् ।

नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उनले निर्देशन दिएका छन् ।

रासस

प्रतिक्रिया