कोशी प्रदेशसभामा समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा दुईवटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १४३ बमोजिम सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्य एवं समितिका सभापति किशोरचन्द्र दुलाल र सामाजिक विकास समितिका ज्येष्ठ सदस्य एवं समितिका सभापति गयानन्द मण्डलले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट तिलचन पाठकले विशेष समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले हिजोदेखि सुरु गर्नुभएको अनशनले प्रदेशसभालाई गम्भीर बनाएको बताएका छन् ।

अनशनले संविधानको मूल्य र मान्यतालाई धज्जी उडाएको प्रसङ्ग उल्लेख गर्दै सांसद पाठकले भने, “पूर्वमुख्यमन्त्री कार्कीले जुन माग राखी अनशन बस्नुभएको छ, ती माग आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा परेको रातो किताबबाट प्रस्ट हुन्छ ।”

दश वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सरकारले बजेटको व्यवस्थापन गरेको, स्वास्थ्य महिला स्वयंसेविकाको सम्मान र स्वाभिमानलाई उच्च पार्न बजेट विनियोजन गरेको छ भन्दै उनले झुटा कुरालाई बोकेर अनशनमा बस्नु जनता र संसद्लाई गुमराहमा पार्न खोज्नु हो भनेका छन् ।

सांसद पाठकले यसअघि सरकार अल्पमतमा पर्दा राजीनामा नदिने र विश्वासको मत पनि नलिने पूर्वमुख्यमन्त्री कार्कीको मूल्याङ्कन आमजनताले गरेको उल्लेख गर्दै मुख्यमन्त्री हुँदै गर्दा उनले नै ल्याएका वार्षिक बजेटमा धेरै योजना कटौती भएको र संसद् एवं जनताको भावना विपरीत काम गरेको जगजाहेर छ उनले भने ।

मुख्यमन्त्रीजस्तो गरिमामय ओहोदामा रहिसकेको माननीय कार्कीले पदीय जिम्मेवारी र प्रतिष्ठाको ख्याल नगरी अराजक हरकत प्रदर्शन गरेको भनी खेद व्यक्त गरेका हुन् ।

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सजना दर्जी, खगेनसिं हाङ्गाम, गीतादेवी रेग्मी, मीना श्रेष्ठ, रामदेव यादव, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, नारायणबहादुर मगर र निर्मला लिम्बूले मुलुकको आर्थिक, राजनीतिक, सामजिकलगायत समसामयिक विषयमा बोलेका थिए।

सभामा सभामुख अम्बरबहादुर विष्टले विषयगत समितिमा सदस्य समावेश तथा हेरफेरसम्बन्धी नामावली प्रस्तुत गरेका छन  भने विषयगत समितिको सभापतिको निर्वाचन यही भदौ २८ गते हुने जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक असोज २ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

रासस

प्रतिक्रिया