गृहसचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आज नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरेका छन् ।

सो क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरेका छन् । गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ प्रथम संशोधन,२०८०, आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका छन् ।

त्यस अवसरमा गृहसचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानुन कार्यान्वयनमा पु¥याएको योगदानको प्रशंसा गरेका हुन् ।

उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको बताए।

उनले प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सङ्गठन संरचना, मानवस्रोत तथा स्रोतसाधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, चुनौती, भावी योजना, प्रहरी सङ्गठनले मन्त्रालयसँग गरेको अपेक्षालगायत विषयमा प्रस्तुतीकरण दिनुभएको हो ।

रासस

प्रतिक्रिया