बाँकेमा आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेकोे छ । भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको छ ।

पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । 

उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो ।  जिल्लामा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा नरैनापुरमा एक सय ३१ औलोका बिरामीहरु फेला परेका थिए । 

यसैगरी, राप्तीसोनारीमा नौ, डुडुवामा आठ, नेपालगञ्जमा सात, कोहलपुरमा तीन, बैजनाथ र खजुरामा दुई/दुईजनामा औलो रोग पुष्टि भएको थियो । जानकी गाउँपालिकामा भने शून्य रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सबैभन्दा धेरै नरैनापुरमा एक सय तीन, नेपालगञ्जमा १०, कोहलपुरमा चार, राप्तीसोनारी र खजुरामा दुई/दुई, जानकीमा एकजनामा औलो रोग पुष्टि भएको थियो । डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो ।

भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बढ्दै गएका कारण जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति गौतमको भनाइ छ । 

प्रतिक्रिया