वडा अध्यक्ष हत्याको अनुसन्धान सन्तोषजनक नभए माओवादीले आन्दोलन गर्ने अध्यक्ष दाहालको चेतावनी

कमलेश मण्डल

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामगोपालपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हत्याको अनुसन्धान सन्तोषजनक नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महोत्तरीको रामगोपालपुर टेंगरमा रामगोपालपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुकेश यादवको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले हत्या घटनाको कुनै पनि राजनीतिक दबावमा नपरी छानबिन गर्न आग्रह गरे । रामगोपालपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुकेश यादवको हत्या प्रकरण राष्ट्रिय चासोको विषय बनेको छ, दाहालले भने, “ यादवको हत्या बारे पार्टीले गम्भीर रुपले लिएको बुझियोस । अनुसन्धान र दोषीलाई कारवाही गर्न हेलचेक्राइ भयो भने देशव्यापी रुपमा आन्दोलन हुन्छ ।“ प्रहरी र सीआइबीले हत्याको अनुसन्धान गरिरहेको बताएपनि स्थलगत रुपमा अनुसन्धान गम्भीरताका साथ अनुसन्धान भएको पाइएन, उनले भने ।

श्रद्धाञ्जली सभामा सहभागी हुनु अघि दाहाले मृतक यादवको परिवारका सदस्यहरुसँग भेटघाट गरेका थिए । हत्यामा संलग्नलाई तत्काल कारवाहीका लागि पहल गरिदिन मृतक यादवका परिवारले दाहालसँग आग्रह गरे । जवाफमा दाहालले सरकारले दोषीलाई कारवाही नगरे पार्टी न्यायको लागि लडने प्रतिबद्ध जनाए । 

रामगोपालपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुकेश यादवको बर्दिबासबाट घर फर्किने क्रममा भदौ ८ गते मध्यराति  दुर्घटनामा मृत्यु भएको थियो । तर माओवादी केन्द्रले वडा अध्यक्ष यादवको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ । भदौ ९ गते बर्दिबास नगरपालिका १२ स्थित सडक छेउमा यादवको शव भेटिएको थियो ।

श्रद्धाञ्जली सभामा मृतक यादवकी श्रीमती आइती यादवले श्रीमानलाई खाजा खान बर्दिबास बोलाएर हत्या गरेको आरोप लगाइन । जनप्रतिनिधि भइ समाजको सेवा गर्ने क्रममा श्रीमानको हत्या भएकोले मृतक यादवलाई सहिद घोषणा गर्न माग गरिन्।
 

प्रतिक्रिया